बिर्तामोड । झापाको बिर्तामोडमा साहित्य कला संस्कृति प्रतिष्ठान स्थापना गरिएको छ ।

 

साहित्यकार, गीतकार, कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर र सदस्यहरुमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् ।

 

साहित्य कला संस्कृतिमा रुची राख्ने व्यक्तिहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।

 

प्रतिष्ठान बिर्तामोडले पहिलो कार्यक्रमको रुपमा दशैं, तिहार , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेको छ ।

 

बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, समिक्षक तथा कवि डा. ठाकुरप्रसाद पोखरेल, साहित्यकारहरु शिवकुमार पौडेल, पुण्यप्रसाद खरेल, गोपाल संग्रौला, कुमार भट्टराई, एनवी दाहाल, हस्त परियार, हरि रिमाल, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

त्यस्तै साहित्यकार तथा प्राध्यापक देवी संग्रौला, तुलसीप्रसाद भट्टराई, टीका चापागाईं, अच्युत दाहाललगायतले रचना वाचन गरेका थिए भने गायक तथा कलाकार मात्रिकाप्रसाद संग्रौलाले गीत प्रस्तुत गरेका थिए ।

 

सोही कार्यक्रममा उदीयमान कवि विजय संग्रौलाद्वारा लिखित अन्तिम विदाइ नामक कविता संग्रहको विमोचन समेत गरिएको थियो । उक्त कृतिको समिक्षा साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले गरेका थिए ।

 

कार्यक्रममा लेखक संग्रौलाले अन्तिम विदाइ आफ्नो पहिलो कृतिका रुपमा सार्वजनिक गरिएको बताए ।