बिर्तामोड । ए प्लाष्टिक एनिमियाबाट पीडित भइ निधन भएका बिर्तामोडका राजु चौधरीको परिवारलाई सहयोगी हातहरुले घर निर्माण गरिदिने भएका छन् ।

 

स्थानीय रेडियम व्याण्डका गायक तथा गितारिस्ट राजु चौधरीको गत भदौ २५ गते उपचारका क्रममा भारतको दिल्लीमा निधन भएको थियो । करिब २ महिना जति नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

 

उनको उपचारका लागि देश विदेशमा रहेका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका थिए । बिर्तामोडका युवाहरुले ‘फर राजु चौधरी’ अभियान सञ्चालन गरी उनको उपचारका लागि आर्थिक सहयोग जुटाएका थिए ।

 

तर, उपचारकै क्रममा राजु चौधरीको निधन भएपछि अभियान रोकिएको थियो । राजुको उपचारसहित विविध खर्च गरि करिब २० लाखजति खर्च भएको अभियानका सदस्य विशाल अग्रवालले न्यूज सञ्जाललाई जानकारी दिए ।

 

उनका अनुसार उपचारका लागि संकलित झण्डै ७० लाखमध्ये स्व. राजुको परिवारका लागि २० लाख मूल्यबराबरको चार कोठे घर निर्माण गर्न लागिएको छ । जसका लागि स्थानीय लक्ष्मीमाया सुनारको संयोजकमा ५ सदस्यीय घर निर्माण समिति गठन गरिएको छ । जसमा विशाल अग्रवाल, देविका कार्की, संगीता गिरी र सुधामाया थापा सदस्य छन् ।

 

यसैगरी, बिर्तामोड ५ की वडा सदस्य तथा कार्यपालिका सदस्य भगिरथा आचार्य घिमिरेको संयोजकत्वमा प्रकाश लिङदेन, विकास गिरी र वडा सचिव विमल पोख्रेल सदस्य रहने गरी अनुगमन समिति बनाइएको छ ।

 

अभियानका सदस्य अग्रवालका अनुसार स्वर्गीय राजु चौधरीका दाजुको पनि भर्खरै निधन भएकाले उनको काजकिरियाका लागि एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

 

यसैगरी, राजुका दुई साना भाइहरुको नाममा चार लाख रुपैयाँ बैंकमा जम्मा गरिने भएकाे छ ।

 

फर राजु चौधरी अभियानले संकलन गरेको रकममध्ये बचत २५ लाख रुपैयाँ सुरक्षित राखिएको छ । उक्त रकम क्यान्सरपीडितको उपचारमा सहयोगका लागि खर्च गरिने मुख्य अभियन्ताद्वय कलाकार स्वप्निल शर्मा र निरन शाहीले बताएका छन् ।

 

यस अभियानकाे संरक्षकका रूपमा शर्मा, शाहीसहित बिर्तामाेड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेन रहेका छन् ।