काँकडभिट्टा । करिब चार वर्षअघि मकवानपुरका दुई दिदीबहिनी र पोखराकी एक किशोरी सँगसँगै बेपत्ता भए ।

 

 

दलालको चंगुलमा परेर भारतको वेश्यालयमा बेचिएका मकवानपुरका दिदीबहिनीमध्ये दिदी र पोखराकी एक किशोरी करिब डेढ महिनाअघि बेश्यालयबाट उम्किन सफल थिए । उनीहरूलाई शनिबार मानव बेचबिखनको क्षेत्रमा कार्यरत विश्व सेवा विस्तार संस्थाले अभिभावकको जिम्मा लगायो ।

 

मकवानपुरकी दिदी बहिनीमध्ये बहिनीचाहिँ अझै भारतको वेश्यालयमै छिन् । चार वर्षअघि सुनौली नाका हुँदै यी दिदीबहिनीलाई दलालले दिल्ली पुर्‍याएको थियो । उनीहरूको बेचबिखनमा परिवारकै सदस्यको संलग्नताको आशंका छ । ‘दिदीलाई ३ र बहिनीलाई २ लाखमा बिक्री गरिएको बुझिएको छ’, विश्व सेवा विस्तार संस्थाका एक कर्मचारीले जानकारी दिए, ‘यो अपराधमा परिवारकै व्यक्ति प्रत्यक्ष जोडिएको अनुसन्धानबाट खुलेको छ ।’

 

दलालले केही समय दिल्लीको एउटा भाडाको घरमा बन्धक बनाएर राखेको थियो । त्यहीबाट दलालले असमको सिल्चर वेश्यालयमा बिक्री गरेको थियो । ‘कति मूल्यमा बिक्री गर्‍यो भन्ने कुरा किशोरीहरूलाई पनि थाहा छैन’, विश्व सेवा विस्तार संस्थाका कर्मचारीले भने ।

 

दुवै दिदीबहिनी सिल्चरको वेश्यालयमा बेचिएका थिए । पछि दिदीलाई सिल्चरबाट कोचविहार लगियो । बहिनी भने उतै छुटिन् । त्यही भेटिएकी थिइन्, पोखराकी १७ वर्षीया किशोरी । पोखराकी किशोरीलाई पनि सुनौली नाकाबाट भारत छिराएर सोझै असमको सिल्चरमा बेचिएको थियो ।

 

यी किशोरीकी आमा दोस्रो बिहे गरेर गएकी थिइन् । छोरी हराएपछि बुबाले छोरी आमाकै साथ लागेर गई भन्ने सोचेछन् । तर, यथार्थ फरक थियो- उनी दलालको चंगुलमा फसेर भारतको वेश्यालयमा बेचिसकेकी थिइन् ।

 

‘बहिनी बेचिएको कुरा वर्ष दिनअघि मात्रै पायौं’, दिदीले भनिन्, ‘बहिनीले एक दिन फेसबुकमा भ्वाइस मेसेज पठाएपछि मात्रै उनी बेचिएको थाहा लाग्यो ।’

 

एक वर्षदेखि दिदीबहिनी निरन्तर फेसबुकमा गफिँदै थिए । बहिनीलाई कसरी उद्धार गर्ने भन्ने चिन्ताले उनी दिनरात तड्पिएकी थिइन् । अचानक एक महिनाअघि भारतबाट अपरिचित नम्बरबाट फोन आयो । उनले उठाइन् । फोन गर्ने व्यक्ति भारतको सिन्ने नामक संस्थाका कर्मचारी थिए । ती कर्मचारीले भने, ‘तपाईंको मान्छे हामीले उद्धार गरेका छौं, लिन आउनू ।’

 

बेचिएकी बहिनीलाई घर फर्काउन पाइयो भनेर दाजु उत्साहित हुँदै पोखराबाट आए । तर, लामो कानुनी प्रक्रियाका कारण बहिनी नलिइ निराश भएर घर फर्किए । लामो समयपछि बहिनीसँग भेट्दा शनिबार उनी निक्कै भावुक देखिन्थे । ‘माया मारिसकेकी बहिनीलाई भेट्दा सपना जस्तो लागेको छ’, उनले भने ।

 

नेपाली चेलीहरूलाई भारतीय दलालले भारतका विभिन्न वेश्यालयहरूमा पुर्‍याउँथे । कहिले कोलकाता त कहिले कोचविहार । त्यही सिलसिलामा उनीहरूलाई पश्चिम बंगालको कोचविहारको वेश्यालय ल्याइएको थियो डेढ महिनाअघि । उनीहरूलाई लिएर भारतीय सहर चाहार्ने दलालको कोभिडका कारण अचानक मृत्यु भयो । त्यसपछि वेश्यालयबाट उम्किए उनीहरू ।

 

भागेर सोझै नेपाल छिर्न लाग्दा पूर्वी नाका पारि पानीट्यांकीमा सुरक्षाकर्मीले रोक्यो । उनीहरूको साथबाट भारु २ लाख १५ हजार ३ सय बरामद गरिएको थियो । सुरक्षाकर्मीले पक्राउ गरी बेचबिखनविरुद्ध कार्यरत भारतीय संस्था सिन्नेलाई जिम्मा लगाएको थियो ।

 

कोलकातास्थित महावाणिज्य दूतावाससँगको सहकार्यमा करिब एक महिना लामो प्रयत्नपछि उनीहरूलाई घर फर्काएर अभिभावकको जिम्मा लगाइएको विश्व सेवा विस्तार संस्थाका संयोजक सरस्वती मानन्धरले जानकारी दिइन् । उनले उनीहरूलाई बिक्री गर्ने दलालको पहिचान गरी थप कानुनी प्रक्रिया अघि बढाइने जनाइन् ।

 

शनिबारै भारतको कोलकाताबाट रोल्पा र धनुषाका दुई बालक र जलपाइगुडीबाट पाँचथरका अर्का बालक गरी तीन बालकलाई महावाणिज्य दूतावासको सहकार्यमा विश्व सेवा विस्तार संस्थाले उद्धार गरेको फिल्ड इन्चार्ज इन्द्र बस्नेत (कुमार) ले जानकारी दिए ।

 

यसअघि गत वैशाखमा पनि संस्थाले भारतको वेश्यालयबाटै उद्धार गरेर एक किशोरी र बालबालिका घर फर्काएको बस्नेतले जनाए । यो समाचार पत्रकार पर्वत पोर्तेलले इकान्तिपुरमा लेखेका छन् ।