बिर्तामोड । आइतबार राति हत्या गरिएका झापा बिर्तामोडका व्यवसायीको शव पोस्टमाटमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ ।

बिर्तामोड ५ स्थित महानन्द चोकमा मगर फ्रेस हाउस सञ्चालन गर्दै आएका इन्द्र मगर राति नै मृत अवस्थामा फेला परेका थिए । उनको धारिलो हतियारको प्रहारबाट दाहिने हात र घाँटीमा गहिरो चोट देखिएकाले कसैले हत्या गरेको आशंका प्रहरीको छ ।

अर्जुनधारा ६ कप्तानबारी निवासी मगर शव देखेपछि स्थानीयले करिब पौने १० बजेतिर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

तत्काल प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । पसलभित्र धारिलो हतियार प्रहार गरि मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेकोले बढी रगत बगेकै कारण उनको घट्नास्थलमै मृत्यु भएको हुनसक्ने बताइएको छ ।

घटनाको अनुसन्धान तालिम प्राप्त कुकुरबाट सुरु गरिएको छ । अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त झिकाएर रातिदेखि नै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मासु व्यवसायी मगरको शवलाई सोमबार बिहानमात्र पोस्टमार्टमका लागि प्रहरीले मुचुल्का तयार गरी अस्पताल पठाएको हो ।