अर्जुनधारा । झापाको अर्जुनधारा ११ स्थित सालबारी मिलडाँडा युवा परिवारले स्थानीय ३० परिवारलाई ‘दशैं उपहार’ वितरण गरेको छ ।
परिवारका अध्यक्ष ओमबहादुर मगरको अध्यक्षता र ज्येष्ठ नागरिक प्रेमराज इङनामको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रममा उनीहरुलाई उक्त ‘दशैं उपहार’ वितरण गरिएको हो ।
संस्थाले दशैं उपहारअन्तर्गत अनुमानित एक लाख रुपैयाँबराबरको खाद्यान्न सामग्री चामल, तेल, दाल र नुन वितरण गरिएको संस्थाका उपाध्यक्ष म्याक्सम पुरीले जानकारी दिए ।
कार्यक्रममा नगर कार्यपालिका सदस्यद्वय भैरवबहादुर खड्का र लक्ष्मी तामाङ, स्थानीय समाजसेवी जगत राना मगर, संस्थाका निवर्तमान अध्यक्ष किरण जवेगुलगायतले शुभकामना व्यक्त गरेका थिए ।
२०७६ सालमा स्थापना भएको संस्थाले यसअघि सरसफाई, डस्टविन वितरण, मिर्गौला पीडितहरुका लागि सहयोग रकम संकलनलगायतका सामाजिक कार्यक्रमहरु सञ्चालन गरेको सल्लाहकार सनम राईले जानकारी दिए । संस्थामा हाल ५० जना युवा आवद्ध छन् ।