सुनसरी । अविरल वर्षासँगै खसेको पहिरोले धरान १३ मा घर पुरिँदा २ जना बेपत्ता भएका छन् ।
सुनसरी प्रहरीका अनुसार बेपत्ता हुने दुवैजना बालबालिका रहेका छन् । उनीहरु एकै घरका दिदीभाइ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार पहिरोले धरान १३ को नागेश्वर मार्गमा रहेको निशान राईको घर पुरिएको हो । पहिरोसँगै राईका छोरा र छोरी बेपत्ता भएको उनले बताए ।
डिएसपी कार्कीले बेपत्ता भएकाहरु पुरिएको हुन सक्ने आशंकामा उद्दार कार्य जारी रहेको बताए । निरन्तरको वर्षाका कारण उद्दारमा भने समस्या आएको उनको भनाइ छ ।
सुनसरी प्रहरीका अनुसार पहिरो खसेसँगै बेपत्ता हुनेमा ७ वर्षीया निसु राई र वर्ष ४ का निहान राई रहेका छन् । उद्दार कार्यको लागि घटनास्थलमा थप टोली पठाइएको प्रहरीले जनाएको छ ।