पहिरोले मेची राजमार्गको इलाम जिरोकिलोमिटर धोबिधारा खण्ड ।

इलाम । लगातारको वर्षापछिको पहिरोमा परी इलाममा १२ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको ज्यान गएको छ ।

 

फाकफोकथुम ३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको स्थानीय उद्धव लामिछानेले जानकारी दिए ।

 

घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रनदत्ता थापा, १६ वर्षीय निशान कटुवाल र १३ वर्षीय निश्चल कटुवालको ज्यान गएको हो । ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको लामिछानेले जानकारी दिए ।

 

२ तले घरको भुईंतलामा सुतेका उनीहरुलाई पहिरोले पुरेको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन् ।

 

त्यस्तै सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र माङसेवुङ गाउँपालिकामा २ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

इलाममा ३ जना बेपत्ता रहेका छन् । पहिरोका कारण दर्जनभन्दा धेरै घर परिवार विस्थापित भएका छन् । इकान्तिपुरबाट