इलाम । इलाम देउमाई नगरपालिका वडा नं ५ बारुङमा आफ्नै श्रीमती र छोरीको हत्या गरेको एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारुङका ३३ बर्षीय कमल तामाङ रहेका छन् । उनले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै घरभित्र घरपरिवारका सदस्य राखी गएराति धामी बसेका थिए । यसैक्रममा बिगतदेखि बेलाबखत बेहोस हुने बिरामी रहेकी श्रीमती ३४ बर्षीया सीता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको आज बिहान ६ बजे हत्या गरेको बताइएको छ । साथै घरमा पालेको कुकरको समेत हत्या गरेका छन् ।
उनले झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको बिभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटिगई कमल तामाङलाई नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलबारे र जिल्ला प्रहरी कार्यालय इलामको टोली घटनास्थलमा पुगेर मुचुल्का संकलन गरेको प्रहरी निरीक्षक डिल्लीबहादुर थापाले जानकारी दिए ।