गौरादह । झापाको गौरादहमा तीव्र गतिका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका ४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

 

दुर्घटनामा परी मे. ९ प २७०३ का मोटरसाइकल चालक गौरादह ५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

 

अधिकारीले चलाएको मोटरसाइकल र मे. ६ प ५४१६ नंको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन् ।

 

उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना भएका दुवै सवारीसाधन प्रहरी चौकी महारानीझोडाको नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।