बिर्तामोड । झापाका विभिन्न नाकाबाट बरामद गरिएको ८ लाखभन्दा बढी मूल्यबराबरको पटाकाजन्य वस्तु नष्ट गरिएको छ ।
विभिन्न मितिमा सशस्त्र प्रहरी बलको २ नम्बर गण मातहत रहेका पोष्टहरुबाट बरामद गरिएका पटाकाजन्य वस्तु नष्ट गरिएको हो । गणका अनुसार
गण मातहतमा रहेका बोर्डर आउट पोष्टहरुबाट खटिएको सशस्त्र प्रहरीको टोलीले अन्दाजी ८ लाख २० हजार ५ सय मूल्यबराबरको पटाकाजन्य वस्तु बरामद गरी नष्ट गरेको गणपति प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन् ।
बरामद गरिएका पटाकाजन्य वस्तुहरुमा जगमग, सानो चकलेट, ठुलो चकलेट, खोर्सानी र झिरझिरे लगायत विभिन्न किसिमका विष्फोटकजन्य वस्तुहरु रहेका छन् ।
उक्त पटकाहरु स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग बाणिज्य संघको प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र पत्रकारहरुको रोहबरमा बिहीबार कार्यलय परिसरभित्र खाल्डोमा पुरेर नष्ट गरिएको जनाइएको छ ।
बरामद गरि नष्ट गरिएका पटाकाजन्य वस्तुहरु सशस्त्र प्रहरी बलको २ नम्बर गणमातहतको पोष्टहरुबाट मात्रै हो । नेपाल प्रहरीका विभिन्न इलाका, चौकी, अस्थायी पोष्टहरुबाट के कति बरामद गरि नष्ट गरिएको भन्ने सार्वजनिक गरिएको छैन ।