बिर्तामोड । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा खेलिने देउसीभैलो टोलीलाई १० बजेसम्म मात्र खेल्न समयसीमा तोकेको छ ।
झापामा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार सूचना जारी गर्दै त्यस्तो जनाएको हो । तर, आजै बिर्तामोड नगरपालिकाले सूचना जारी गरि राति ८ बजेसम्ममात्र देउसीभैलो खेल्न आग्रह गरेको थियो ।
आज जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गर्दै रातको समयमा १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको हाे ।
कोरोना संक्रमण कायमै रहेको भन्दै प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाएर भिडभाड नगरी देउसीभैलो खेल्न अनुरोध गरेको सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा कार्यक्रमलाई सभ्य एवम शान्तिपुर्ण बनाउन भनिएको छ ।
कार्यालयले दीपावली मनाउने क्रममा जनताको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल प्रभाव पर्ने, चोटपटक लाग्ने तथा आगलागी भइ जनधनको क्षति हुने भएकाले पटका आतिसबाजी जस्ता विस्फोटक तथा अति प्रज्ज्वलनशील पदार्थको बिक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न नगराउन सबैमा अनुरोध गरेको छ ।
त्यस्ता कार्य भए, गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । प्रशासनको सूचनामा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै चाडपर्व मनाउन आग्रह गरिएको छ ।
चाडपर्वमा गरिने कार्यक्रम गरिँदा सार्वजनिक जनजीवनमा असर नपर्ने तथा भिडभाड नगरी सभ्य र शान्तिपूर्वक गर्न प्रशासनले आग्रह पनि गरेको छ ।
आजैमात्र झापाका विभिन्न नाकाबाट बरामद गरिएको ८ लाखभन्दा बढी मूल्यबराबरको पटाकाजन्य वस्तु नष्ट गरिएको छ । विभिन्न मितिमा सशस्त्र प्रहरी बलको २ नम्बर गण मातहत रहेका पोष्टहरुबाट बरामद गरिएका पटाकाजन्य वस्तु नष्ट गरिएको हो ।