अर्जुनधारा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सहयोद्धा तथा जेल जीवन सँगै बिताएका मानकुमार तामाङ बूढ्यौलीसँगै अशक्त बन्दै गएका छन् ।
झापा विद्रोहमा १७ वर्ष जेल जीवन बिताएका कम्युनिस्ट योद्धा तामाङ अहिले पनि झापा अर्जुनधारा १ स्थित गाउँमा बनिबुतो गरेर जीविका चलाइरहेका छन् । आफू सहभागी भएको आन्दोलनका उपलब्धी धेरै छन् । तर, उनले त्यो उपलब्धीको महसुस गर्न पाएका छैनन् ।
बस्नलाई राम्ररी ओत लाग्ने घर छैन । काठ र टाटीबाट बनेको सामान्य घर छ तर हावाहुरी र पानी आएमा जीउलाई ओभानो जोगाउन मुस्किल पर्ने अवस्था छ । यस्तै घरमा कति वर्षा, कति हिउँद कटाएका छन् उनले । कम्युनिष्ट आन्दोलनमा होमिएर मुलुकले स्वतन्त्रता पायो, न्याय पायो तर मानकुमार उस्तै छन् ।

उनै राजनीतिक योद्धा तामाङ जीर्ण घरमा विरामी पत्नी फुलमाया तामाङको हेरचाह गर्दै बस्दै आएका छन् । परिवर्तनका लागि आन्दोलनमा होमिएका सहयोद्धाहरु सत्तारोहणमा धेरै पटक उक्लिए तर मानकुमारको जीवनमा कुनै परिवर्तन आएन । न त सहयोद्धाहरुको स्मरणमा मानकुमार नै आए ।
तर, राज्यबाट उपेक्षित भए पनि मानकुमारको अवस्था केही महिनाभित्रै फेरिने भएको छ । उनले एउटा चारकोठे पक्की घर पाउने भएका छन् । आधुनिक डिजाइनअनुसारकै घर बनाउनका लागि स्थानीयले पहल थालेका छन् ।
आज लक्ष्मी पूजाको साइत पारेर पत्रकार नेतृत्व सहयोग समितिबाट उनको घरको शिलान्याश गरिएको छ । जनसहयोग संकलन गरेर १२ लाखको लागतमा सुविधाजनक पक्की घर तीन महिनाभित्र निर्माण गरिने भवन निर्माण समितिका संयोजक तथा पत्रकार कुमार भट्टराईले बताए ।
अब बन्ने घर एक तलाको हुने र त्यसमा दुई वटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा भान्सा कोठा हुने गरी घरको नक्सा तयार पारिएको छ ।

लामो जेलनेल भोगेका राजनीतिक योद्धाको रुपमा राज्यका तर्फबाट पाएको ७५ हजारमा झापा र इलामको सीमास्थित जङ्गल छेउमा दुई दशकअघि पाँच कठ्ठा ऐलानी जग्गा खरिद गरेर उनी काठको घरमा जसोतसो बस्दै आएका छन् ।
मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्याएका व्यक्ति भएकाले तामाङप्रति उच्च सम्मान दर्शाउन घर निर्माण अभियान सञ्चालन गरिएको निर्माण समितिका सहसंयोजक एवम् पत्रकार दिपीन राईले बताए ।
घर निर्माण अभियान पत्रकारहरुले नै सञ्चालन गरेका छन् । सात सदस्यीय समितिमा कोषाध्यक्षमा पत्रकार मनिषा चम्लागाई रहेकी छन् भने सचिवमा पत्रकार विनोद सापकोटा छन् । अन्य सदस्यमा स्थानीय युवाहरु युवराज लोहार, पवन खनाल र उपेन्द्र बस्नेत रहेका छन् ।
अहिले तामाङको परिवार बस्दै आएको घर बर्खामा पानी चुहिने गरेको छ । पानी खानका लागि पुरानो ट्युबवेल प्रयोग गर्दै आउनु भएको छ । उहाँहरुले प्रयोग गर्ने शौचालयको छानो र भित्ता भत्किएर ह्वाङ्गै भएको छ ।
घर निर्माणमा कुनै राजनीतिक उद्देश्य नरहेको र सबै पक्षको सहयोग जुटाएर निर्माण सम्पन्न गरिने लक्ष्य भएको निर्माण समितिका संयोजक भट्टराईको भनाई छ । राजनीतिक आस्थाको आधारमा समितिका संयोजक भट्टराई नेपाली काङ्ग्रेस निकट हुन् ।
घरको शिलान्यास अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि राना, नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेब गोम्देन, नेकपा माओबादी केन्द्रका नगर इञ्चार्ज नारद तामाङ लगायतले संयुक्तरुपमा गरेका हुन् ।

उनीहरुले आफ्ना मन्तब्यका क्रममा मुलुकमा गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि बलिदान गर्न तयार भएर संघर्षमा होमिनु भएको जिउँदा शहीद तामाङको घर निर्माणमा पूर्ण सहयोग रहने बताए ।
यसैबीच, सहयोगी हातहरुले आर्थिक तथा जिन्सी सहयोग गर्ने घोषणा गरे । अध्यक्ष गोम्देनले २ बण्डल जस्तापाता, नेता तामाङले नगद १० हजार प्रदान गरे भने युवा व्यवसायीहरु रमेश निरौला, प्रदिप मित्तल र पुष्प आचार्यले ३ सय थान ब्लक उपलब्ध गराउने भएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट २ सय थान ब्लक, भगिरथ लुइँटेल र गोविन्द खतिवडाबाट १०-१० बोरा सिमेन्ट, हरि कार्की र अम्बिका फुयलबाट ५-५ बोरा सिमेन्ट र लीला आचार्यबाट पाँच हजारबराबरको रंगरोगन सहयोग हुने भएको छ ।
घर निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै तामाङले पत्नी फुलमाया तामाङ मुटुको बिरामी भएको र उपचारका लागि राम्रो हस्पिटल पुर्याउन नसकेको बताए ।
उनले हाल बाँसको चोया काटेर डोको, नाङ्लो, भकारी लगायतका सामान बुनेर बजारमा बेच्दै परिवारको जीविका चलाउँदै आएका छन् ।