बिर्तामोड । संघीय लिम्बूवान मञ्च नेपाल झापाको अध्यक्ष पदका लागि ५ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । मञ्चको छैटौ जिल्ला अधिवेशन मंसिर २ गते बिर्तामोडमा हुने तय भएको छ ।

 

मञ्चले शनिवार बिर्तामोडमा पत्रकार भेटघाट आयोजना गरेको कार्यक्रममा लिम्बूवान नेताहरुले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

 

मञ्चको मंसिर २ गते हुने अधिवेशनमा अध्यक्ष पदका लागि ५ जना आकांक्षी भएका छन् । अध्यक्ष पदका लागि हालका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ, उपाध्यक्ष अमित खम्बू, सचिव आङथुपो र सचिव तिर्थराज पौडेलले आ–आफ्नो उम्मेद्वारी पत्रकार सम्मेलनमै घोषणा गरेका हुन् ।

 

सोही कार्यक्रममा मञ्चले अधिवेशनको तयारीबारे पनि जानकारी दिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि मञ्चले विभिन्न उपसमिति निर्माण गरेको छ ।

 

मञ्चले आर्थिक उप समितिको संयोजकमा अमित खम्बू, र सदस्यमा तिर्थराज पौडेल र बुद्धिमान तामाङ, स्टेज ब्यवस्थापन तथा अतिथि सत्कार संयोजकमा ज्वाला इम्बुङ सदस्यमा नारायण तामाङ र शिबकुमार राई, प्रचारप्रसार/जनपरिचालन/यातायात ब्यवस्थापन संयोजकमा राजा आङथुपो सदस्यमा विजय ठाडामगर, कृष्णबहादुर सेन्दाङ, लीलानाथ आङदेम्बे, बिक्रम चेम्जोङ, अमर माबोहाङ र प्रताप निङलेखु रहेका छन् ।

 

मञ्चका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सम्पन्न हुने अधिवेशनमा मञ्चका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानबहादुर इङबुङ र प्रदेश नं। १ की सामाजिक विकास मन्त्री विष्णुमाया तुम्बाहाम्फेको विशिष्ठ आतिथ्यता रहने मञ्चका झापा अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए ।

 

 

अधिवेशनका लागि अनुमानित १० लाख खर्च हुने र उक्त खर्च जिल्लाभरका ७ हजार सदस्यबाट साथै विभिन्न संघ÷संस्थाबाट जुटाइने अध्यक्ष पन्धाकले जानकारी दिए ।

 

अधिवेशन सम्पन्न गर्न अध्यक्ष पंधाकको संयोजकत्वमा जिल्ला पदाधिकारीहरु, क्षेत्रीय तथा पालिका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु सदस्य रहने गरी मूल अधिवेशन आयोजक समिति गठन गरिएको छ ।