अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेदेखि खुदुनाबारी जोड्ने सडकमा ढाट लगाएर स्थानीयले बन्द गरेका छन् । उनीहरुले देउसीको शैलीमा भट्याउँदै बाटो अवरुद्ध गरेका हुन् ।
अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडाअन्तर्गत रहेका बाह्रदशी पुलदेखि गणेश पथहुँदै रुपरत्न मेमोरियल स्कुलसम्म ढाट लगाएर स्थानीयले बन्द गरेका हुन् ।
खुदुनाबारीदेखि नारायण चोकसम्म कालोपत्रे भएको छ । तर, नारायण चोकदेखि शनिश्चरे बजारसम्म करिब डेढ किलोमिटर सडकमा ग्राभेल गरेर छाडिएपछि स्थानीयले धुलोका कारण स्वास्थ्यमा समस्या देखा परेको भन्दै बन्द गरेका हुन् ।
शनिश्चरे बजारदेखि खुदुनाबारी जाने सडकको नारायण चोकसम्म ठकेदार कम्पनीले सडक कालोपत्रे गरेको छैन । करिब २ वर्षदेखि ठेकेदार कम्पनीले उक्त सडक खण्डमा ग्राभेल गरेर छाडेको छ । उक्त सडकमा दैनिक एक हजारको हाराहारीमा २ चक्के सवारीदेखि हाइवाजस्ता हेवी भेहिकल आवतजावत हुने गरेको छ ।
निर्माण सामग्री ओसारपसारका लागि ट्याक्टर, टिपर, बिर्तामोडदेखि खुदुनाबारी, इलामको दानाबारी, जितपुर, मंगलबारे लगायत इलामको दक्षिणी पालिकामा यसै सडकबाट यात्रुवाहक सवारी चल्ने गरेको छ ।
धुलोका कारण आजित भएर फेरि बाटो बन्द गर्नुपरेको स्थानीय बासिन्दा तथा नेकपा एमाले अर्जुनधारा नगर कमिटी सदस्य मुना बाँस्कोटाले बताइन् । उनले नगरपालिकामा पटक पटक ताकेता गर्दा पनि सडक नबनेकाले स्थानीयबासी फेरि बाटो बन्द गर्न बाध्य हुनु परेको बताइन् ।
शनिश्चरेदेखि खुदुनाबारीहुँदै इलामको दक्षिण भेग जोड्ने मुख्य सडकको करिब ३ सय मिटर सडक खण्ड अवरुद्ध भएको छ । कालोपत्रे नभइञ्जेल बाटो बन्द नै रहने बाँस्कोटाले बताइन् । तीन सय मिटर क्षेत्र वरपरका स्थानीयले आज साँझ पौने ६ बजेदेखि सडक अवरुद्ध गरेका हुन् । यो समाचार तयार पारुञ्जेल (७ः३० बजे) सम्म सडक अवरुद्ध नै रहेको छ ।
बाटो बन्द गरेपछि अलपत्र परेका कतिपय सवारी चालकले स्वागतयोग्य काम भन्दै वैकल्पिक सडक रोजेका थिए भने कतिपयले बाटो बन्द गरेर अनावश्यक दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् ।
सडक अवरुद्ध भएको करिब १ घण्टापछि शनिश्चरे प्रहरी चौकीको टोली घटनास्थलमा आएको छ । चौकी इन्चार्ज रवि राईले ७ र ८ नम्वर वडाका अध्यक्षलाई बोलाएर बाटो खुलाउने प्रयास गरिरहेका छन् ।