झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।

 

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको थियो। बन्दका कारण झापाको मुख्य सडकमा यातायात खासै चलेनन् । बिर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टालगायतका मुख्य शहरहरु सुनसान देखिए भने सार्वजनिक यातायात चलेनन् ।

 

सार्वजनिक सवारीसाधन नचले पनि निजी सवारी साधनहरु सडकमा गुडेका थिए । मुख्य राजमार्गमा सवारीसाधन नचले पनि भित्री सडकहरुमा निर्वाधरुपमा चलेका थिए । त्यस्तै, गाउँका बजार र दोकानहरु पनि खुलेका थिए । बन्दका प्रभावले जिल्लाका निजी तथा सामुदायिक विद्यालय पूर्णतः ठप्प बने ।

 

बिहानपख केही बन्दकर्ताहरु सडकमा देखिए पनि त्यसपछि नदेखिएको प्रहरीले जनाएको छ । बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बन्द सफल बनाउन भन्दै सो संगठनले हिजो बेलुका मसाल जुलुस प्रदर्शन गरेको थियो ।