झापा । झापाको बिर्तामोड प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवालाई पक्राउ गरेको छ ।
शुक्रबार बेलुका साढे ५ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिषेक राजवंशीलाई पक्राउ गरेको हो ।
उनको साथबाट ब्राउनसुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । ब्राउनसुगर बरामद भएपछि राजवंशी सवार ज. ८ प ८१३२ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।
यसैगरी बसपार्कबाटै राति ८ बजे बसपार्कमा लागूऔषधको कारोवार गरिरहेको अबस्थामा दुई युवायुवती पक्राउ परेका थिए । बसपार्कस्थित ताप्लेजुङ होटलमा लागूऔषध ब्राउनसुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटल संचालिका ताप्लेजुङ सिरीजंगा ३ बस्ने २० वर्षिया अनिसा भट्टराई र इलाम नगरपालिका ६ बस्ने २८ वर्षीय मनिष राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा १ ग्राम ब्राउनसुगर फेला पारी ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।