बिर्तामोड । कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् ।
आइतबार सार्वजनिक मत परिणामअनुसार निकटतम् प्रतिद्वन्द्वी रामबहादुर कट्टेललाई पराजित गर्दै थेवे जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । थेवेले कट्टेललाई २ सय ५० मतान्तरले पराजित गरेका हुन् ।
शुक्रबारको मतदानमा कुल ३ हजार ३ सय ८९ मतमध्ये ३ हजार ३ सय ११ मत खसेको थियो । त्यसमा ३ मत बदर भएको थियो । जिल्ला सभापतिमा निर्वाचित थेवेले १७ सय ६५ तथा कट्टेलले १५ सय १५ मत पाएका थिए ।
थेवे र कट्टेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । थेवेलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा कट्टेललाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समर्थन गरेका थिए ।
पदाधिकारीमा थेवेको प्यानल नै निर्वाचित भएको हो । जसमा दुई उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई, सचिवमा नवीन बिमली र कृष्ण हुमागाईं तथा सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी निर्वाचित भएका हुन् ।
कांग्रेस झापामा ७ पदाधिकारी र ६४ जना सदस्यका लागि मतदान भएको थियो ।