झापा । ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ सिकैँचामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

 

शुक्रबार भएको दुर्घटनामा २५ वर्षीय बसन्त लिम्बू र १५ वर्षीय समीर लिम्बूको मृत्यु भएको हो। अन्य दुई जना गम्भीर घाइते छन्।

 

सिकैँचाको ओरक्पाबाट बोखिमतर्फ गोलिया बोकेर जानेक्रममा मे. १ त ६८९३ नम्बरको ट्रयाक्टर सडकबाट २०० मिटर तल झरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

 

ट्याक्टरमा सवार चार जना घाइते भएको थिए । जसमध्ये गम्भीर घाइते दुई जनालाई शुक्रबार नै हेलिकोप्टरमार्फत धरान लगिएको थियो। जसमा बसन्तको धरानमा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारका क्रममा मृत्यु भएको हो।

 

गम्भीर घाइते चालक अमिन लिम्बू र सुशन लिम्बूको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।