काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो ।

 

झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो ।

 

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताए । उनले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’

 

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताए ।

 

यसअघि नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको थियो । सोमबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएको हो ।

 

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

 

नेपालमा पनि ओमिक्रोन देखिएपछि फेसबुक, टिकटक, ट्वीटर लगायत सामाजिक सञ्जालमा धेरैले सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

तर, सरकारी अधिकारीहरूले अहिले लकडाउनबारे कुनै निर्णय नगरेको जनाएका छन् । तर, स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई सचेत गराएका छन् । इकान्तिपुरबाट