झापा । प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जना भारतीय नागरिकलाई झापाको मेचीनगरबाट पक्राउ गरेको छ ।

 

भारतबाट नेपाल प्रवेश गरेका दुई जना भारतीय नागरिकलाई पैदल हिँडिरहेको अवस्थामा मेचीनगर ६ स्थित मेचीपुलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ११ ग्राम अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

 

मेची पुलमा पैदलै आइरहेका भारत फ्रोजपुर जिल्ला पञ्जावका २५ वर्षीय सुखजित सिंह र केयर सिंहलाई प्रहरीले अफिमसहित पक्राउ गरेको हो ।

 

उनीहरुले खैनी राख्ने बट्टामा लुकाइछपाइ नेपाल भित्र्याउने क्रममा लागूऔषध नियन्त्रण काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो ।

 

पक्राउ भारतीय नागरिकलाई अहिले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।