झापा । सल्यान घर भएका एक व्यक्ति ठुलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित झापाको मेची पुलबाट पक्राउ परेका छन् ।
भारतको पानीटंकीदेखि पैदलै मेची पुलबाट नेपाल प्रवेश गर्न लागेका सल्यान जिल्लाको वनगाउँ नगरपालिका १ स्थित सल्लीबजार बस्ने ३० वर्षीय रमेश डिसीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रवेश गर्ने क्रममा शंका लागेर खानतलासी लिँदा डिसीले बोकेको झोलाभित्र २३ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले डिसीले बोकेको झोला चेकजाँच गर्ने क्रममा किताबभित्र प्लाष्टिकमा राखिएको अवस्थामा उक्त परिमाणको ब्राउनसुगर फेला परेको जिप्रका झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
उनले बोकेको झोलाभित्र किताबमा मिहेनत गरी ब्राउन सुगरको भाग अट्नेगरी काटेर प्लाष्टिक अडाइ ल्याउँदै थिए । किताबको आकार मिल्नेगरी दुवै भाग काटेर ब्राउन सुगर ओसार्न प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डिसीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिटामा राखिएको प्रहरीले जनाएको छ ।
