शनिश्चरे । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा डेंगु नियन्त्रण गर्न डेंगुको लार्भा खोजी गरी नष्ट गर्ने भएको छ ।
डेंगुको प्रकोप नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले आइतबार नगर स्वास्थ्य शाखाद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त कुरा बताइएको हो । नगरको मुख्य चोक बजार, जनघनत्व बढी भएको स्थान तथा ग्यारेजहरुमा अभियान केन्द्रित हुनेछ ।
अभियान मंसीर २८ गतेदेखि पुस ९ गतेसम्म सञ्चालन हुनेछ । शाखाले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान अन्तर्गत २, ३, ५, ६, ७, ८, ९ र ११ नम्बर वडाको डेंगु प्रभावित १० स्थानमा डेंगुको लार्भा खोजी गरी नष्ट गर्ने स्वास्थ्य शाखाका अधिकृत मुकुन्द बस्नेतले जानकारी दिए ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईंले सहजिकरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शाखाका अधिकृत बस्नेतले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।