झापा । नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापतिसमेत रहेका पत्रकार हुमागाईले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुमागाईले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरेका हुन् । उनले आइतबार नेपाल पत्रकार महासंघ झापामा पत्रकार सम्मेलन गर्दै पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट समेत राजीनामा दिएका छन् । राजीनामा पत्र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे ।
सञ्चार उद्यमीको रुपमा रहेर आफूद्वारा सम्पादित/प्रकाशित जय लोकतन्त्र साप्ताहिक पत्रिकालाई भने कर्मचारीमार्फत प्रकाशनमा निरन्तरता दिने बताए । २० वर्षको उमेर हुँदादेखि नै आफू २०४५ सालबाट पत्रकारिता पेशामा आबद्ध रहेको बताएका हुमागाईले आफू ५३ वर्ष पूरा गरुन्जेल लगभग ३४ वर्षसम्म झापामा रहेर सक्रिय पत्रकारिता गरेको अनुभव सुनाए ।
यस अवधिमा नेपाल पत्रकार महासंघ झापाको सचिव, उपसभापति हुँदै सभापति भएका उनले २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिकाकै कारण पत्रकारिता र राजनीतिक वृत्तमा चर्चा कमाएका थिए ।
२०६२/०६३ को जनआन्दोलनमा सक्रियता देखाएकै कारण उनी पटक-पटक पक्राउ पर्नुका साथै निर्वासित जीवन विताउनु परेको थियो भने भारतीय प्रहरीले पक्राउ गरी जलपाइगुरीस्थित भक्तिनगर थानामा केही दिन हिरासतमा राखेको थियो ।
नेपाल पत्रकार महासंघको अध्यक्ष रहँदा भद्रपुरस्थित महासंघको भवन निर्माण र बिर्तामोडमा जग्गा जोड्ने कार्यमा महत्वपूर्ण भूमिका पत्रकार हुमागाईको रहेको थियो । सक्रिय राजनीतिमा रहेर पनि महासंघको संस्थागत विकास एवं प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो सदैव सहयोग रहने हुमागाईले बताए ।
‘राजनीति कुनै पनि देशको मूल नीति हो । राजनीति ठीक ढंगले चल्यो भने देशमा स्थिरता, शान्ति र पद्धतिको विकास हुन्छ र जनताले सुख पाउँछन् । राजनीतिलाई किनारामा बसेर विग्रियो भनेर गाली गरेर मात्र नहुने ठानेर म सक्रिय राजनीतिमा होमिएको हुँ’, विज्ञप्तिमा भनेका छन्, ‘राजनीतिमा सबै खराब मात्र छन् भन्ने अनि राम्रा भनिएका मान्छेहरु राजनीतिमा प्रवेश नगर्ने हो भने कसरी राजनीति सप्रिन्छ होला र !’