मोरङ । सुन्दा पनि शरीर सिरिंग हुने । घरबाटै हराएकी २१ महिने बालिका मृत्यु अवस्थामा फेला परिन् । बालिकाको हत्या गरेर नजिकैको पैनीमा गाडिएको अवस्थामा फेला पारिएको थियो ।
घटना मोरङको रंगेली नगरपालिका २ को हो । स्थानीय चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउ अचानक हराएकी थिइन् । तर, उनलाई हत्या गरेको अवस्थामा फेला पारिएको छ । उनको हत्या कसुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रंगेली नगरपालिका २ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगीता उराउ रहेका छन् । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै बेपत्ता भएकी थिइन् । खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लाश घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो ।
पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।