# रमेश समदर्शी,

बिर्तामोड । इलाम बजारका रामजी सुवेदी (सुमन) मंगलबार दिउँसो केही भावुक मुद्रामा थिए । बिर्तामोडको बिएन्डसी हस्पिटल परिसरमा केही खुसी, केही भावुक मिश्रित अवस्थामा भेटिएका उनी मनभित्रै भक्कानिँदै थिए ।

 

धेरै लामो समयको उपचारपछि श्रीमती गीता सुवेदी आज घर फर्किन तयार भएकी छिन् । सुमन यसमा औधी खुसी थिए । भावुक बनेका थिए यसकारण कि माया मारिसकेको श्रीमती आज आफूसँगै घर फर्किंदै थिइन् । यसमा खुसीभन्दा पनि मन गहुँगो भएको थियो ।

 

उनकी श्रीमती गीता १४३ दिनको हस्पिटल बसाइपछि कोरोनालाई जितेर आज डिस्चार्ज हुँदै थिइन् । गएको साउन १९ गते कोरोना पोजेटिभ देखिएकी गीता करिब ५ महिना लामो हस्पिटल बसाइपछि आज डिस्चार्ज भइन् ।

 

कोरोना देखिएको ६ दिनपछि गीतालाई सास फेर्न गाह्रो भएको थियो । ३ दिन बिएन्डसीको वार्डमा राखिँदा पनि सुधार नआएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो । १५ दिनपछि भदौ ३ गते कोरोना नेगेटिभ त आयो तर फोक्सोमा निमोनिया संक्रमण भएपछि उनी थलिइन् ।

 

गीता कोरोना नेगेटिभ भए पनि उनमा ब्ल्याक फंगस देखियो । उनको खकारमा कालो ढुसी देखा परेपछि सबै तर्सिए । तर, परिवारको साथ थियो उपचारमा । एक डोजको ४० हजार पर्ने औषधि पनि चलाए चिकित्सकले । एउटा ट्याब्लेटको १५ सय पर्ने औषधि दैनिक २ वटासम्म चलाएको चिकित्सकले सुनाए ।

 

बिएन्डसीमा पहिलोपल्ट देखिएको कालो ढुसीका बिरामीको सफल उपचार भएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । दक्ष जनशक्ति र उच्चस्तरीय ल्यावका कारण उपचार सम्भव भएकाे उनकाे भनाइ छ । यस किसिमको उपचारका क्रममा चिकित्सकलाई पनि अध्ययनको विषय भएको उनीहरुको भनाइ छ ।

 

चिकित्सकका अनुसार गीतालाई ९९ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । सास फेर्न झन् गाह्रो भएपछि यस क्रममा दैनिक ८० लिटर अक्सिजन दिनु पथ्र्यो । तर, अहिले २ देखि ३ लिटर अक्सिजनले काम गरिरहेको क्रिटिकल केयर डिपार्टका डा. राजु श्रेष्ठले सुनाए ।

 

डा. श्रेष्ठलगायत मेडिसिन डिपार्टका डा. लक्ष्मण ठाकुर, नर्सिङ स्टाफ गंगा अधिकारीलगायतको टिम ४५ वर्षीया गीताको उपचारमा चमत्कार भएको बताउँछन् । हुन त यसअघि पनि ९३ दिनको उपचारपछि कुसुम खतिवडा पनि निको भएर घर गएकी छन् । तर, १४३ दिनसम्म परिवारले उपचारमा साथ दिएकोमा चिकित्सक टिम परिवारप्रति कृतज्ञ छन् ।

 

सुगरको समेत रोगी गीताको केश उदाहरणीय त छ नै, पाठ पनि सिकाएको मेडिसिन डिपार्टका प्रमुख ठाकुरले सुनाए । बिरामी निको भएर घर फर्किएला भन्ने विश्वास नै नभएको अवस्थामा परिवारको साथ र सहयोग कति महत्वपूर्ण हुन्छ भन्ने सिकिएको उनको भनुभव छ ।

 

इलामका कपडा व्यवसायी सुमनले आफूले सक्नेसम्म श्रीमती गीताको उपचारमा खर्च गरे । दुई महिनासम्म खर्च गरेका उनले बिरामीको अवस्था २० को १९ नहुँदा माया मारिसकेको सुनाउँदै केही भावुक बने । आज करिब ५ महिनापछि बिरामी घर फर्किंदै थिए ।

 

 

खर्च गर्ने अवस्था नभएपछि उनले हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई गुहार माग्न पुगेको पत्रकारहरु माझ सुनाए । बाँकी उपचार हस्पिटलले गरिदिएकोमा उनी आभारी छन् । सबै स्वास्थ्यकर्मी, व्यवस्थापन समूहप्रति उनले आभार प्रकट गरे ।

 

‘म लामो समयदेखि बोल्न नसक्ने अवस्थामा थिए । तर, आज धेरै बोलिरहेको छु’, उनी भन्दै थिए, ‘माया मारिसकेकी श्रीमतीलाई निको बनाएर घर लैजाँदैछु ।’

 

श्रीमानको यस्तो आवाज सुनेर गीताले आँशु थाम्न सकिनन् । ह्वील चेयरमा बसेकी गीताले आँशु पुछ्दै ताली बजाउँदै श्रीमानको हौसला बढाइरहेकी थिइन् । परिवारका अन्य सदस्य पनि थिए, अनौपचारिक कार्यक्रममा । अन्त्यतिर, सबैले सामूहिक तस्वीर खिचाएर खुसी साटे ।