अर्जुनधारा । अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

 

२०५४ सालमा स्थापित यस वन समूहको नयाँ नेतृत्वमा अध्यक्षसहित १३ जना चयन हुनेछ । १३ पदमा ४५ जनाको उम्मेद्वारी परेकाे छ । आइतबार २ बजेसम्म अन्तिम उम्मेद्वारीको समय तोकिएपछि समूहको अध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल सम्वद्ध उम्मेद्वारले दर्ता गराएका हुन् । जसमा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा नयन अधिकारीको उम्मेद्वारी परेको छ ।

 

यस्तै, नेपाली कांग्रेसको तर्फबाट चन्द्रप्रसाद प्रसाईं, नेकपा माओवादीको तर्फबाट विजेन्द्र एक्तेन र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नरेन्द्रबहादुर अधिकारीले समूहको अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

 

समूहको अन्य पदका लागि पनि आकांक्षीहरुले उम्मेद्वारी दिएका छन् । जसमा एक उपाध्यक्षमा ३ जनाको उम्मेद्वारी परेको छ । जसमा सन्तबहादुर मगर, विश्वनाथ चम्लागाई र भरतबहादुर सुब्बा छन् ।

 

यस्तै, एक महिला सचिव पदमा पनि ३ जनाको उम्मेद्वारी परेको छ । जसमा प्रभा नेपाल, पुजा तिम्सिना खड्का र पदममाया मैनालीले उम्मेद्वारी दिएका छन् । यस्तै, सहसचिवको पदमा ४ जनाले उम्मेद्वारी दिएका छन् । उनीहरु सबै जना पुरुष छन् । जसमा देउकुमार नेम्बाङ, यामबहादुर राई, कुलबहादुर घिमिरे र ओमबहादुर ढकाल छन् ।

 

यस्तै, कोषाध्यक्ष पदमा एक महिलासहित ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमा संगीता नेम्बाङ, वेदराज वाग्ले, लेखनाथ अधिकारी, रामसिंह लिम्बू र रेशबहादुर एक्तेनको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

 

यसैगरी, ४ जना महिला सदस्यका लागि ११ जना, २ जना पुरुष सदस्यका लागि १० जना, १ जना जनजातिका लागि ३ जना र १ जना दलित सदस्यका लागि २ जनाको उम्मेद्वारी परेको छ ।

 

निर्वाचन समितिले पुस ११ गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । जसअनुसार पुस २६ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।