अर्जुनधारा । मानवअधिकार समूह अर्जुनधाराको आयोजना र इन्सेक प्रदेश कार्यालयको सहयोगमा बिहीबार स्वास्थ्यको अधिकार सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले गरेका थिए ।
समूहका अध्यक्ष सुवेदीले समूहको तर्फबाट स्वास्थ्यसम्बन्धी १७ वटा बुँदा उल्लेख भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत मुकुन्द बस्नेतले सुझावसहितको प्रतिवेदनबारे जवाफ दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख रानाले नागरिकको स्वास्थ्यको अधिकारमा नगरपालिकासँगै स्वास्थ्य शाखा सधैँ सचेत हुनुपर्ने बताए । उनले नगर मातहत रहेका स्वास्थ्य इकाइको कार्य सम्पादन र सेवा जनगुनासो नआउने गरी चुस्त र छरितो हुनुपर्नेमा जोड दिए ।
इन्सेक झापाका प्रतिनिधि नरेश खातीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन समूहका नगर संयोजक राजन साम्पाङले गरेका थिए । कार्यक्रममा उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्षहरु, बोर्ड सदस्यलगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।