झापा । झापाको बिर्तामोड नगरपालिका ४ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउमध्ये एक जना युवती रहेकी छन् ।

 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका १० का २३ वर्षीय सुदिप ठकुरी, २३ वर्षीया उषा राई र बुद्धशान्ति गाउँपालिका ४ का २७ वर्षीय पुर्णलाल लिम्वु रहेका छन् ।

 

बिहीबार ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

 

यसैबीच, पाँचथर सदरमुकाम फिदिमबाट पनि लागूऔषध ब्राउनसुगरसहित एक युवती पक्राउ परेकी छिन् ।

 

पक्राउ पर्नेमा फिदिम बजारमा होटल सञ्चालन गर्दै आएकी ३२ वर्षीया युवती रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा फिदिम १ बाट देवी लकान्द्रीलाई ८ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित बिहीबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिश्वकर्माका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।