झापा । झापामा कोरोना संक्रमणविरुद्धको बुस्टर डोज लगाउन शुरु गरिएको छ । असारसम्म कोरोनाको दोस्रो खोप लगाएकाहरुलाई बुस्टर डोजको रुपमा तेस्रो खोप लगाउन थालिएको हो ।

 

बिर्तामोड नगरपालिकामा हिजोदेखि बुस्टर डोज लगाउन थालिएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । असारसम्म कोभिसिल्डको दोस्रो खोप लगाइसकेकाहरुका लागि बुस्टर डोज आएको स्वास्थ्य कार्यालय झापाका इश्वरी पौडेलले बताए । उनले ७० हजार डोज कोभिशिल्ड आएको जानकारी दिए । झापामा ८ हजार ८ सयजनाले असारसम्म कोभिशिल्डको दोस्रो डोज लगाइसकेका छन् ।

 

त्यस्तै ६ महिनाअघि भेरोसिलको दोस्रो डोज लगाएकाहरुलाई पनि बुस्टर डोज लगाइने भएको छ । तर , भरोसिलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोजको कार्यक्रम चलिरहेकाले बुस्टर डोजको लागि भरोसिल खोप कमी देखिएको पौडेलले बताए । उनले अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोजको व्यवस्था मिलाइएको जानकारी दिए ।

 

झापामा पहिलो डोज लगाउने १८ वर्षमाथिका ७६.५ प्रतिशत, दोस्रो डोज लगाउने १८ वर्षमाथिका ६८.४ प्रतिशत र कोरोनाको खोप लगाउने १२ वर्षमाथिका ६५.९ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।