विराटनगर । प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी भएका छन् । उनी झापा बिर्तामोडका हुन् ।

 

निर्वाचनमा नेकपा एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतको मत बराबरी आएको थियो । बुधबार साँझ सम्पन्न मत गणनाबाट दुबै उम्मेदवार बराल र बस्नेतको समान ४४८८ मत आएको थियो । दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषणा गरिएको हो ।

 

 

राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा गोलाप्रथालाई एक मत बढी मानिने प्रावधान छ ।

 

यसअघि अल्पसंख्यक कोटाबाट एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भइसकेका छन्। एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी भएका थिए।

 

अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे। गठबन्धनका तर्फबाट उम्मेदवार राईले ४ हजार ३ सय ६८ मत प्राप्त गरे। त्यस्तै महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् ।

 

उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ ।