शनिश्चरे । नदीजन्य सामग्रीको निकासीको विषयलाई लिएर अर्जुनधारा नगरपालिका १ का वडाध्यक्ष गजाधर खतिवडामाथि कुटपिट भएको छ । माघ ११ गते वडाध्यक्ष खतिवडामाथि कुटपिट भएको हो ।

 

वडाध्यक्ष खतिवडाले कुटपिटमा संलग्न सोही वडाका कांग्रेस सभापति उपेन्द्र बस्नेत र होमनाथ अधिकारीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् । खोलामा उत्खनन् को विषयमा विवाद हुँदा आफूमाथि नै हमला भएको उनको भनाई छ । नेते खोलाको लट्टेखर्क छेउमा वातावरणीय अध्ययन प्रतिवेदन अनुसार नै काम भएको वडाध्यक्ष खतिवडाको दाबी छ ।

 

वडाध्यक्ष खतिवडाले भने, ‘डेढ सय मिटरको ब्लक थियो । गाउँलेकै सहमतिमा खन्ने सल्लाह भयो । त्यसैले ठेक्कावालाले खने । त्यसमा मेरो केही दोष छैन ।’ त्यहि विषयलाई लिएर आफूमाथि कुटपिट भएको वडाध्यक्ष खतिवडाको भनाई छ ।

 

उत्खनन् कै क्रममा कांग्रेसका वडा सभापति बस्नेतसँग आएका अधिकारीले वडाध्यक्षको पेटमा लात्तीले हानेका थिए । सभापतिकै अगाडि लात्ती हान्दा समेत कुनै रोकछेक नगरेको भन्दै कुटपिटको घटनामा सभापतिकै योजना देखिएको उनको दावी छ । घटनाबारे उनले मेयर, उपमेयर र नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देनलाई जानकारी गराइसकेको बताए ।

 

यता, नेपाली कांग्रेस अर्जुनधारा १ का सभापति बस्नेतले कुटपिटको घटनामा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । आफूले केही नगरेको बस्नेतको दावी छ । उनले वडाध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने बताए । कुटपिटमा संलग्न अधिकारी बस्नेतको घरमा काम गरेर बस्ने व्यक्ति रहेको खुलेको छ ।

 

यसैबीच, कुटपिटकाे घटनालाई लिएर स्थानीय राजनीतिक दलहरुले दोषी उपर कडा कारवाहीको माग गरेका छन् । स्थानीय चार राजनीतिक दलले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गरिएको छ ।

 

नेकपा एमाले अर्जुनधारा १ का अध्यक्ष खड्गबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका विजेन्द्रकुमार एक्तेन, नेकपा एसका नविन खनाल र राप्रपा नेपालका सचिव रंगलाल मिश्रले विज्ञप्ति जारी गर्दै दोषीउपर कानुनी कारबाहीका लागि आग्रह गरेका छन् ।