इलाम । आज (बिहीबार) बिहान ६ बजे इलामको रोङ गाउँपालिका ४ पहिरोमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । मृत्यु हुनेमा झापा बाहुनडाँगीका दाजुभाइ हुन् ।

 

झापाबाट इलाम आउँदै गरेको प्र. १-०१-००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भएर दुर्घटना भएको हो । पिकअप आफैँ अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको जनाइएको छ ।

 

दुर्घटनामा झापा मेचीनगर ४ बाहुनडाँगीका ५८ वर्षीय रमेश थापा र सोही ठाउँका ४० वर्षीय सूर्य थापाको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक अर्जुन कोइराला समेत घाईते भएका छन् । सामाजिक व्यक्तित्व रमेश थापाले बाहुनडाँगी बजारमा होटल सञ्चालन गर्दै आएका थिए ।

 

बाहुनडाँगीकै घाईते कोइरालाको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी जोरकलसले जानकारी दिएको छ । घटनापछि बाहुनडाँगी शोकमग्न बनेको छ ।