फाइल तस्वीर ।

झापा । कोरोना भाइरसको संक्रमणले झापामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला रहेकी छन् ।

 

पछिल्लो पटक कमल गाउँपालिका वडा नं १ की ४६ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा बुधबार राति ८ः३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

 

उनलाई बुधबार नै एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो । योसहित झापामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६६२ पुगेको छ ।

 

यसैबीच पछिल्लो पटक झापामा ८८ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा ३६ महिला र ५२ पुरुष रहेका छन् । बिहीबारसम्म झापामा सक्रिय संक्रमितको संख्या १९३२ पुगेको छ । त्यसमध्ये ३१ जना अस्पताल भर्ना भएका छन् ।