काठमाडौँ । सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप करिब दुई महिनापछि लगाउने तयारी थालेको छ । करिब ४० लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको ‘गुलाबी खोप’ मार्चको अन्त्य वा अप्रिल पहिलो सातासम्म पाउने सरकारी अधिकारीले अपेक्षा गरेका छन् ।

 

‘५ देखि ११ वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजर खोप अप्रिलको पहिलो सातासम्म आउने सम्भावना छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डा आरपी बिच्छाले भने, ‘खोप आउनासाथ दुईदेखि तीन महिनाभित्र हामी यो उमेर समूहका पूर्ण जनसंख्यालाई खोप लगाउन सक्छौं ।’

 

सरकारले धेरैअघि नै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ६० लाख मात्रा खोपका लागि विश्व बैंकमार्फत फाइजर कम्पनीसँग अनुबन्ध गरेको थियो ।

 

तर, कोभाक्स सुविधाको सहयोगअन्तर्गत मोडर्नाको खोप ३४ लाख मात्रा आयो । थप ४० लाख मात्रा मोडर्नासमेत नेपाल भित्रिइसकेको छ । यसरी भित्रिएको कुल ७४ लाख मात्रा मोडर्ना १२ देखि १७ वर्षका बालबालिकालाई दिन थालिएको छ ।

 

‘फाइजरको आउने भनिएको ६० लाख खोपलाई भने ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन मिल्ने गुलाबी खोपमा परिवर्तन गर्न कम्पनीसँग आग्रह गरेका छौं,’ डा बिच्छाले भने । ५-११ वर्षका बालबालिकाको जनसंख्या ४० लाख छ । खोप खेर जान सक्ने अनुमानसहित पहिले अपेक्षा गरिएको ६० लाखसँगै थप २४ लाख गरी ८४ लाख मात्रा गुलाबी फाइजर दिन कम्पनीलाई आग्रह गरिएको हो ।

 

‘११ वर्षमुनिका बालबालिकालाई खोप वितरण गर्ने लिस्टमा फाइजरले हामीलाई पहिलो प्राथमिकतामा राखेको छ,’ डा। बिच्छा भन्छन्, ‘उक्त खोप करिब दुई महिनापछि प्राप्त हुने हामीले विश्वास गरेका छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।