शनिश्चरे । नदीजन्य सामग्रीको निकासीका विषयमा अर्जुनधारा १ का वडाध्यक्षमाथि भएको कुटपिटप्रति नेपाली कांग्रेस अर्जुनधारा १ का सभापति उपेन्द्र बस्नेतले दुःख व्यक्त गरेका छन् । घटनाको निन्दा गर्दै आफू पनि दुखित भएको उल्लेख गरेका कांग्रेस सभापति बस्नेतले घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् ।
माघ ११ गते स्थानीय नेते खोलामा वडाध्यक्ष गजाधर खतिवडामाथि कुटपिट भएको थियो । कुटपिटको घटनालाई लिएर स्थानीय चार राजनीतिक दलले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा कांग्रेस सभापति बस्नेत र होमनाथ अधिकारीमाथि कारबाहीको माग गरेका थिए ।
चार राजनीतिक दलको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सभापति बस्नेतले आफ्नो चरित्र हत्या गरी अन्यलाई चोख्याउने गरी प्रेसित विज्ञप्ति केही राजनैतिक अभिष्ठ पूरा गर्ने ठहर गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
चार राजनीतिक दलकाे विज्ञप्तिमा ‘नेपाली कांग्रेसका सभापति उपेन्द्र बस्नेतको उपस्थिति’मा भन्ने वाक्यांश नै राजनैतिक छुद्रपन भएको ठम्याइ गरेका उनले जनताको समस्यामा उपस्थित हुनु आफ्नो नैतिक दायित्व भएको उल्लेख गरेका छन् ।
कसैको चरित्र हत्या गर्दैमा आफ्नो राजनैतिक संगठनको उचाइ बढ्छ भन्ने सोचाइका साथ आएको विज्ञप्ति विरोधका लागि विरोधमात्र भएको उल्लेख गर्दै बस्नेतले घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन् ।
राजनीतिक कमी कमजोरी सच्याउन नुहिन तयार तर भाँचिन होइन भन्दै उनले भनेका छन्, ‘भिडभाडमा कसले, कहाँ के गर्छ ? त्यसको सम्पूर्ण जिम्मा मैले लिनुपर्छ भन्ने हुँदैन ।’
तर, यसै घटनाको विषयमा वडाध्यक्ष खतिवडाले इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएका छन् ।