हल्दिबारीमा मृत फेला परेकाे हात्ती । फाइल तस्वीर

झापा । २०६२ सालयता झापामा १३ जंगली हात्ती मरेका छन् । झापाको विभिन्न वनमा रहेकामध्ये १३ वटा जंगली हात्ती मरेको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराईले जानकारी दिए ।

 

‘सबै हात्ती कालले नै मरेको देखिन्छ । केही जंगलमा मृत अवस्था भेटिएका छन् । केही भने खेतको दहमा भासिएर पनि मरेका छन्’, उनले भने । झापाको मागुरमाडी, तेलपानी, बहुवन, पाँच पोखरी, जुकेखाडी, दहीझोडा, जामुनबाडी, जलथल, रतुवामाई, चारआली, दुम्सेलगायतका जंगलमा हात्ती घुम्ने गरेको उनले बताए ।

 

हाल झापाका जंगलमा १३ देखि १८ वटासम्म रैथानो हात्ती रहेको हुनसक्ने अनुमान रहेको भट्टराईले जानकारी दिए । ‘गणना त भएको छैन । तर, १३ देखि १८ वटासम्म हात्ती छन् भन्ने अनुमान गरिएको छ’, उनले भने ।

 

डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ यता झापामा हात्तीको आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ । यो तथ्यांक डिभिजन वन कार्यालयमा निवेदन दिनेको भएको उनले बताए । योभन्दा अन्यको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयको अनुमान छ ।

 

वन क्षेत्रभन्दा बाहिर हात्तीको आक्रमणमा परी मृत्यु भएको छ भने डिभिजन वन कार्यालय झापाको सिफारिसमा कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रले राहत दिने गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । हात्ती आक्रमणमा परी मृत्यु भएको भए अहिले ५० हजार किरिया खर्च र १० लाख मृतकको परिवारलाई राहत दिने गरेको उनले बताए । वन क्षेत्रमा भए राहत उपलब्ध नहुने उनको भनाइ छ ।

 

यस्तै, घाइतेको हकमा बढीमा दुई लाखसम्म उपचार खर्च पाउने भट्टराईले बताए । ‘हात्ती मांसहारी जनवार हैन । यसलाई अवरोध गर्‍यो, उसले असुरक्षित महसुस गर्‍यो भने र ढुंगामुडा गर्‍यो भने आक्रमण गर्न सक्छ’, भट्टराईले भने ।

 

झापामा दैनिक कुनै न कुनै बस्तीमा हात्ती पसेर घरमा राखेको अन्न खाने, घर भत्काउने गरेको छ । घर भत्किएको र अन्नबाली क्षति गरेको हकमा पनि राहत पाउने गरेको भट्टराईले बताए । ‘घर भत्काएको र अन्नबाली नस्ट गरेमा निवेदन हाल्न सकिन्छ । निवेदनपछि मूल्यांकन समिति हुन्छ । यसले स्थलगत अनुगमन गर्छ,’ उनले भने, ‘अनुगमनपछि कोशी टप्पु वन्यजन्तु आरक्षणलाई सिफारिस गर्ने हो । घरको १० हजार र अन्नबालीको क्षतिको १० हजारसम्म पाउने व्यवस्था छ ।’

 

भारतसँग सीमा जोडिएको झापामा विगतमा भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्थे । स्थानीयको अन्नबाली र घरमा क्षति पुर्‍याउँथे । तर, केही वर्षअघि विद्युतीय तारबार लगाएपछि त्यो क्रम घटेको सूचना अधिकारी भट्टराईले बताए । मेचीनगर पूर्वोत्तर तिरिङदेखि काँकडभिट्टा नजिकसम्म १८ किलोमिटर विद्युतीय तारबार गरिएको उनले बताए ।