सुरुंगा । झापाको कनकाई नगरपालिकामा आफ्नै बुवाले चलाएको ट्याक्टरले किचेर २ वर्षे छोरीको मृत्यु भएको छ । सवारी चलाउदा होसियारी नपनाउँदा एक परिवार दुःखद घटनाबाट गुज्रिनुपरेको छ ।

 

कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा आज (शनिबार) दिउँसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ वर्षीया छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

 

दुलालको मे. १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलिरहेकी आफ्नै छोरीलाई किचेको थियो । छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए ।