कक्षाा १२ का विद्यार्थी खाेप लगाउँदै । फाइल तस्वीर

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै छ । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ ।

 

नगर क्षेत्रमा २८ वटा सामुदायिक विद्यालय र २९ वटै संस्थागत विद्यालय रहेका छन् । त्यस्तै, ५ वटा धार्मिक विद्यालय पनि छन् । विद्यार्थीलाई खोप लगाउनका लागि नगरको स्वास्थ्य शाखाले विभिन्न ९ वटा विद्यालयमा खोप केन्द्र तोकेको छ ।

 

जसमा खुदुनाबारी क्षेत्रका लागि जनता माविमा आज र भोलि, सिस्ने क्षेत्रका लागि सिंहदेवी मावि २० गते, एम्स एकाडेमीमा २० गते, शनिश्चरे माविमा आज र भोलि, अर्जुनधारा माविमा २० गते, भानु माविमा २० गते, लक्ष्मी माविमा आज र भोलि, महारानीगञ्ज माविमा २० गते र कालिस्थान माविमा पनि २० गते खोप लगाउनका लागि केन्द्र निर्धारण गरिएको छ ।

 

सामुदायिक र संस्थागत विद्यालयका करिब ६ हजारभन्दा बढी सय विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत दुर्गा चापागाइँले बताइन् । जसका लागि नगरका २० जना स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।