बिर्तामोड । झापाको बिर्तामोड र गौरादह नगरपालिकामा भएको अलग अलग दुर्घटनामा परि बुधबार दुई व्यक्तिको ज्यान गएको छ । गौरादहमा ट्रकले किच्दा एक महिलाको मृत्यु भएको छ भने बिर्तामोडको बुट्टाबारीमा भएको दुर्घटनामा अर्जुनधाराका एक युवाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गौरादह नगरपालिका १ गुरुङ चौकमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका १ बस्ने ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । गौरादह पाडाजुँगी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ नम्बरको मोटरसाइकलमा सवार महिला बाटोमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले किच्दा उनको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक तथा मृतक महिलाका श्रीमान ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल रहेको बताइएको छ । दुर्घटना गराउने ट्रक बाटो छेउमा पल्टेको थियो । ट्रक । चालक गौरादह १ का ३६ वर्षीय सन्तोष अधिकारी, मोटरसाइकल र मोटरसाइकल चालक ईलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यस्तै, पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड ६ बुट्टाबारीमा बुधबार भएको सवारी दुर्घटनामा परि राजवंशीको मृत्यु भएको थियो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश-१-०१-०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा ११ का ५४ वर्षीय दिलिप राजवंशी र पछाडी सवार बिर्तामोड ४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।
गम्भीर घाइते मोटरसाइकल चालक दिलिपको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।