काँकडभिट्टा । मेचीनगर ६ स्थित काँकडभिट्टामा आइतबार बिहान दुई घरमा आगलागी हुँदा बेलैमा दमकल नआएको भन्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । स्थानीयले काँकडभिट्टादेखि पुरानो भन्सारसम्म करिब एक किलोमिटर सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध पारेका हुन् ।
आइतबार बिहान आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर जलेका थिए । मेचीनगरको दमकल एक महिनादेखि बिग्रिएर ग्यारेजमा थन्किएको छ ।
विद्युत् सट भइ आगो लागेपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका थिए । पानी, बालुवा र स्याउला प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणपछि मात्रै बिर्तामोडको दमकल आएको थियो ।
आक्रोशित स्थानीयले बिहान मेचीनगरका मेयर विमल आचार्य र उपमेयर मीना उप्रेतीविरुद्ध नाराबाजी समेत गरेका थिए । उनीहरुले मेचीनगर नगरपालिकाको मुल गेटमा ताला लगाएर आक्रोस पोखेका थिए । घटनाका सम्बन्धमा आगलागी स्थलमा भोलि (सोमबार) मेयर आचार्य र उपमेयर उप्रेतीलाई उपस्थित गराउने आश्वासनपछि मात्र राजमार्ग सुचारु भएको थियो ।
मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङले भोलि विहान ११ वजे मेयर र उपमेयरलाई आगलागी भएको ठाउँमा ल्याउने जिम्मा लिएपछि आन्दोलन स्थगित भएको स्थानीय युवा फडिन्द्र घिमिरेको भनाइ छ । स्थानीयले एकसुत्रीय माग राखेका छन् । नगरपालिकाले २ वटा दमकल अपडेट राख्नु पर्ने स्थानीयको माग छ ।