पथरी । गत बुधबार ११ गते मोरङको लेटाङ नगरपालिका ८ की एक बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा सोही वडा बस्ने ६४ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयबाट अपरान्ह ४ः३० बजे घर जाने क्रममा वेपत्ता भएकी वडा नं ८ को जाँते उच्च माविको कक्षा ६ मा पढ्ने १२ वर्षकी बालिका करूणा राईको शव गत १३ गते शुक्रबार बिहान ८ः३० बजे फेला परेको थियो । बालिकाको शव खोजतलासको क्रममा लेटाङ नगरपालिका वडा नं ८ लालहिरा सामुदायिक वनमा ढुंगाले छोपेको मृत अवस्थामा फेला परेको थियो ।
उक्त घटनामा संलग्न दिपक गिरीलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा गिरीले जवरजस्ती करणीपश्चात हत्या गरी सोही स्थान नजिकै रहेको खोल्सामा शवलाई घोप्टो पारी ढुंगाले छोपी बालिकाको सबै लुगा कपडा र जुत्ता समेत जलाईदिएको वयान दिएको प्रहरीले जनाएको छ ।