झापा । झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् ।
पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि पत्रकारिता पेशामै क्रियाशील छन् । निरौला झापाको कनकाई नगरबाट प्रकाशित कनकाई खबर साप्ताहिकका सम्पादक÷प्रकाशक साथै कनकाई खबर डटकम न्यूज पोर्टलका सञ्चालक हुन् ।
स्थानीय स्तरका दैनिक पत्रिका, रेडियो, टेलिभिजन साथै राष्ट्रिय समाचार समिति (रासस) मा समेत सम्वाददाताका रुपमा काम गर्दै आएका निरौला स्थानीय पत्रकारहरुको संस्था कनकाई प्रेस क्लवका अध्यक्ष समेत हुन् ।
रोटरी क्लव अफ सुरुङ्गाको स्थापनादेखि नै कार्यसमितिमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पत्रकार निरौला हाल रोटरी क्लव सुरुङ्गाको संचार संयोजक छन् । रोटरी क्लवको कार्यसमिति वैठकले यसअघि नै निर्णय गरेको रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको सौजन्य आफूले गर्ने पत्रकार निरौलाले घोषणा गरेका हुन् । वार्षिक रुपमा वितरण गरिने पुरस्कारको राशि हाललाई नगद १५ हजारसहित सम्मानपत्र रहने बताइएको छ ।
झापा जिल्लामा रहेर रोटरीसहितका सामाजिक गतिविधिमा कलम चलाउने एकजना पत्रकारलाई बर्सेनि पुरस्कार वितरण गरिने जनाइएको छ । रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको अध्यक्षतामा यसअघि रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पत्रकार निरौलाले आफ्नो तर्फबाट जन्मदिनको अवसर पारेर पुरस्कार सौजन्य गर्ने घोषणा गरेका थिए । पुरस्कृत हुने पत्रकार छनौटका लागि नेपाल पत्रकार महासंघ झापाको तर्फबाट एकजना प्रतिनिधिसहित क्लवको एकजना जिम्मेवार पदाधिकारी साथै दाता परिवारको जिम्मेवार सदस्य गरी तीन सदस्यीय पुरस्कार छनौट समितिले निर्णय गरेअनुसार सम्मान गरिने रोटरी क्लव अफ सुरुङ्गाका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले बताएका छन् ।