झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु बसयात्री हुन् । पक्राउ पर्नेमा झापा र काठमाडौँका छन् ।

 

बुधबार दिउँसो ४ः३० बजे बसमा यात्रा गरिरहेका दुई जनाबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको प्र. ३-०१-००६ ख ०६२६ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

 

चालकको पछाडि रहेको सिटमा सवार झापा बुद्धशान्ति ४ बस्ने ४३ वर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका ५ बस्ने ३१ वर्षीय सन्त महर्जनले बोकेको पछाडि भिर्ने कालो रङको झोलाभित्र प्रहरीले २८ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

 

 

दुवैलाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।