झापा । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदानस्थल ‘अति समवेदनशील’ रहेको सुरक्षा निकायको विश्लेषण छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ ।

 

सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थलमध्ये ३२१ मतदान केन्द्र अति समवेदनशील वर्गीकरण गरिएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता राईले जानकारी दिए । उनका अनुसार प्रदेशमा ८४९ वटा मतदानस्थल समवेदनशील र ७०७ वटा सामान्य छन् ।

 

यसैबीच, प्रदेशमै सबैभन्दा बढी झापामा ‘अति समवेदनशील’ मतदानस्थल छन् । झापापछि मोरङ र सुनसरीको मतदानस्थल अति समवेदनशील विश्लेषण गरी सुरक्षा निकायले सोही अनुसार सुरक्षा रणनीति बनाएको छ । खासगरी भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदानस्थल सुरक्षा निकायले अति समवेदनशील सूचीमा राखेर सुरक्षा योजना अगाडि बढाएको हो ।

 

७७७ मतदान केन्द्र र २८६ मतदानस्थल रहेको झापामा ५१ मतदानस्थल अति समवेदनशील सूचीमा छ । यस्तै १५३ समवेदनशील र ८२ मतदानस्थल सामान्य छ । यस्तै, मोरङमा ४९ वटा मतदानस्थल अति समवेदनशील छन् । ८२० वटा मतदान केन्द्र र ३ सय वटा मतदानस्थल रहेको मोरङमा समवेदनशील १५५ र सामान्य ९६ वटा मतदानस्थल छन् ।

 

मोरङको अति समवेदनशील सूचीमा राखेको मतदानस्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा छन् । रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदानस्थललाई पनि सुरक्षा निकायले अति समवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ ।

 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि प्रदेश १ मा १४ हजार प्रहरी र १७ हजार ७ म्यादी परिचालन हुने भएको छ । स्थानीय तह निर्वाचनमा अति समवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।

 

मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रदेश प्रहरीका कार्यालय विराटनगरका प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए।

 

सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, समवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । यसबाहेक रिजर्भ टिम, मोबाइल गस्ती लगायतमा पनि प्रहरी परिचालन हुनेछ । रातोपाटीबाट