बिर्तामोड । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय झापाले समेत निर्वाचनको तयारीलाई तीव्र बनाएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक झापामा एक लाख ३६ हजार १८ जना बढी मतदाता थपिएका छन् ।

 

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ६ लाख ४६ हजार २ सय ३४ जना कूल मतदाता रहेका छन् । जसमा पुरुषको भन्दा महिलाको संख्या बढिरहेको छ । महिला मतदाता मात्रै ३ लाख २४ हजार ७ सय ५ जना छन् भने पुरुष मतदाताको संख्या ३ लाख २१ हजार ५ सय २० जना रहेका छन् ।

 

झापामा अघिल्लो निर्वाचनमा ५ लाख १० हजार २ सय १६ जना मतदाता रहेका थिए । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा ७ सय ५५ मतदान केन्द्र र २ सय ८६ मतदानस्थल तोकिएको छ । सोही अनुसार झापामा रहेका राजनीतिक दल अहिले आफ्नो पक्षमा परिणाम ल्याउन दौडधुप गरिरहेका छन् ।

 

 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमालेले सातवटा स्थानीय तहमा प्रमुख र ११ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । नेपाली कांग्रेसले पाँच स्थानमा प्रमुख र २ स्थानमा उपप्रमुख तथा राप्रपाले तीन वटा स्थानमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो ।