भद्रपुर । स्थानीय तह निर्वाचनका लागि झापामा रहेका १५वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

 

झापाको सदरमुकाम चन्द्रगढीस्थित शिक्षा समन्वय इकाईको कार्यालयलाई झापा जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाउँदै झापाका १५वटै स्थानीय तहमा एकैपटक निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो । झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश गिरीराज गौतमले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बोर्ड वाचन गरेर आफ्नो कार्यालयको उद्घाटन गरेका थिए ।

 

गौतमले झापाका १५ वटै स्थानीय तहमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिँदै बैशाख ११ गतेबाट उम्मेद्वार मनोनयन, दावी विरोध, उजुरीलगायतका निर्वाचनका सबै प्रक्रियाहरु पूरा गरेर १७ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने जानकारी गराए ।

 

मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचन आचारसंहिता कडाईका साथ लागु गरिने समेत प्रष्ट पारेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन इमान्दार भएर लाग्ने जानकारी दिए ।

 

मुख्य निर्वाचन अधिकृत गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निर्वाचन कार्यालय झापाका कार्यालय प्रमुख तुलसीकुमार नेपालले गरेका थिए भने औचित्यमाथि सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले प्रकाश पारेका थिए । कार्यक्रममा ४ वटै सुरक्षा निकायका प्रमुख, सकृय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, विभिन्न सरकारी कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।