झापा । झापाको मेचीनगरमा सखुवा जातको अवैध काठसहित लोड गरी राखिएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सोमबार बिहान करिब २ बजे विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका वडा नं. २ स्थित साविक आमडाँगी ८ बस्ने प्रदिप गिरीले संचालन गरेको एमपी फर्निचर उद्योगमा मे १ त २६६७ नम्बरको ट्रयाक्टरमा लोड गरी राखेको र साथै अनलोड गरी राखेको सखुवा जातको गोलिया जम्मा १९४ क्युफिट प्रहरीले फेला पारेको थियो ।

 

बेवारिसे अवस्थामा फेला पारिएको उक्त काठ र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको छ भने ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।