बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले ‘झापा लालकिल्ला’ हुने दाबी पनि गरे ।

 

झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने कसैसँग ल्याकत नभएको बताए । अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै विकास सम्भव भएकोले विकासका लागि एमालेलाई विजयी गराउनु पर्ने बताए ।

 

‘एमालेविरुद्ध बनाइएको गठबन्धनले एमाले हराउँछु भन्ने सोच नबनाए हुन्छ’, अध्यक्ष ओलीले भने, ‘दुई होस् या पाँच दल होस् , एमालेले कराककुरुक बनाइदिन्छ ।’ उनले झापाको हल्दिबारीमा एमालेको जीत सुनिश्चित भएको भन्दै ओलीले यहाँको विकासका लागि जिम्मेवार हुने पार्टी एमाले भएको बताए ।

 

‘आफू हल्दिबारी नै किन आएको हुँ भने यहाँको विकासको जिम्मा लिन आएको हो’, उनले भने, ‘अध्यक्ष डम्बर गिरी, उपाध्यक्ष शान्ता गौतमसहित सबै एमालेका उम्मेदवारलाई जिताईदिन आग्रह गर्दछु ।’

 

कार्यक्रमका प्रमुख अतिथि ओलीले हल्दिबारीको बिकास गर्न र केन्द्रबाट बिकास ल्याउन सक्ने ब्यक्ती डम्बर गिरी नै भएको बताए । कार्यक्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार गिरीले सम्बोधन गरेका थिए । ओलीले भद्रपुर र हल्दिबारी, धुलाबारी र बिर्तामोडमा सम्बोधन गरेका थिए ।