अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बन्नुभएका बलदेव गोम्देन तामाङले आफूहरुको जित सुनिश्चित रहेको बताउनुभएको छ ।

 

अर्जुनधाराको २ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको चुनावी माहोल जिततिर लम्किरहेकाले आफूहरुको जित निश्चित भएको दाबी गर्नुभएको हो । मेयरका प्रत्यासी गोम्देनले आफूहरुको जितसंगै अर्जुनधारामा विकासको लहर ल्याउने पनि मतदातासमक्ष प्रतिवद्धता जनाउनुभयो ।

 

उहाँले अर्जुनधारालाई समृद्ध र नमुना नगर बनाउनका लागि एमालेको विकल्प नरहेको दाबी गर्नुभयो । आफू नेतृत्वको जनप्रतिनिधिले विजय भएपश्चात हरगाउँ हरठाउँमा समान समावेशी विकासको योजना ल्याउने पनि आश्वासन दिनुभएको छ ।

 

चुनावी अभियान अन्र्तगत अर्जुनधाराको २ नम्बर वडाका विभिन्न स्थानमा भएका कोणसभामा उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले पनि अर्जुनधाराको विकासका लागि नेकपा एमालेका उम्मेदवारहरुको विकल्प नरहेको दाबी गर्नुभएको थियो ।

 

चुनावी अभियानका क्रममा २ नम्बर वडाका वडाध्यक्ष पदका उम्मेदवार तुलसी खतिवडा, सदस्य पदका उम्मेदवारहरु प्रेम उपरकोटी, शर्मिला सुब्बा, बलबहादुर समाल र विमला रोक्काले पनि जनता समक्ष आफूहरुलाई मतदान गरी विजयी गराइदिन आग्रह गर्नुभएको थियो ।