अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले नगर योजना आयोग गठन गरि अर्जुनधारालाई समृद्ध र विकसित नगर बनाउने प्रतिबद्धता जनाएका छन् । अर्जुनधारा ५ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै गोम्देनले केन्द्रीय सरकारले संचालन गरेको राष्ट्रिय योजना आयोगजस्तै स्थानीय सरकारले पनि नगर योजना आयोग गठन गरेर नगरको समृद्धि र विकास गर्ने बताएका हुन् ।

 

उनले नगर योजना आयोगमा विज्ञहरुको टिम निर्माण गरि नगरको सम्भावनाहरुको पहिचान गरेर उचित र वैज्ञानिक ढंगबाट विकास गर्ने आयेजना रहेको बताए । प्रदुषणरहित, बिषादिरहित नगर निर्माण गर्न र शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार लगायतका क्षेत्रको समान विकासका लागि आयोगले विशेष भूमिका खेल्ने गोम्देनले दाबी गरे ।

 

त्यस्तै, गोम्देनले नगरपालिकामा आफूहरु विजयी भए प्रत्येक वडा वडामा लोक सेवा आयोगको निःशुल्क कक्षा संचालन गरि राष्ट्रसेवक कर्मचारी उत्पादन गर्ने योजना रहेको पनि बताए ।

 

१० नम्बर वडाको निर्वतमान वडाअध्यक्ष गोम्देनले आफू नेतृत्वको टिम नगरपालिकामा विजयी भएमा शनिश्चरे अस्पताललाई सुविधा सम्पन्न बनाउने र प्रत्येक नगरबासीलाई सहजै स्वास्थ्य सेवा उपलब्.ध गराउने प्रतिबद्धता जनाए । त्यसका लागि जग्गासमेत व्यवस्थापन भइसकेको उनले जानकारी दिए ।

 

त्यस्तै कार्यक्रममा नेकपा एमालेको तर्फबाट अर्जुनधाराको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले बालबालिकाको अभिभावक र ज्येष्ठ नागरिकको सहारा बन्ने गरि काम गर्ने बताइन् । उनले नगरका नागरिकलाई प्राबिधिक शिक्षासहित स्वरोजगार बनाउन पहल गर्ने बताइन् ।

 

चुनावी कोणसभामा वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेदवार डम्बरकुमार घिमिरेले पनि एमालेका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे । सदस्य पदका उम्मेदवारहरु लक्ष्मीप्रसाद खनाल, रोहितकुमार चौधरी, चन्द्रकुमारी तामाङ र रिता नेपालीले पनि मतदातासमक्ष मत दिन आग्रह गरे ।

 

कार्यक्रममा चर्चित कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा)ले बलदेव गोम्देन नेतृत्वको टिम अर्जुनधाराको विकासका लागि उपयुक्त भएकाले विजयी गराउन आग्रह गरे । राईसहित नायिका रजनी गुरुङ (मंगली)ले पनि कार्यक्रममा प्रस्तुति राखेकी थिइन् ।